इटहरी : इटहरी उपमहानगरपालिका वडा नं. १ को कार्यालयले स्थानीय महिलाहरूलाई स्यानिटरी प्याड बनाउने तालिम दिएको छ ।
महिनावारी भएको समयमा प्रयोग गर्नका लागि स्थानीय महिलाहरूलाई तीनदिने तालिम दिइएको हो ।
वडाध्यक्ष रतन कार्की (कैलाश) का अनुसार १ नं. वडाका एक सय ५० महिलाहरूलाई तालिम दिइएको हो । महिलाहरूले एकपटक लगाएपनि पुनः प्रयोग गर्नेगरी निःशुल्क रूपमा तालिम दिइएको उनले बताए ।
वडा सचिव सुरेश कार्कीले महिलाहरूको स्वास्थ्यको अवस्थालाई लक्षित गरेर तालिम आयोजना गरिएको बताए । उनका अनुसार तालिम सिकेपछि वडाका महिलाहरूले छोरी, बुहारीलाई पनि सिकाउन सक्नेछन् । जसले गर्दा समय र पैसाको बचत हुनेछ ।
तालिमको मुख्य प्रशिक्षकमा सुनीता तिवारी हुमागाईँ रहेकी थिइन् । यस्तै, प्रशिक्षकहरूमा प्रतीक्षा अधिकारी, सुप्रिया थापा र सृजना अधिकारी रहेका थिए ।
मुख्य प्रशिक्षक सुनीताका अनुसार महिनावारी भएको समयमा पुरानो कपडा लगाउने प्रचलन अझैपनि रहेकाले नयाँ कपडाद्वारा आँफूहरूले प्याड बनाउन सिकाइएको छ ।
‘एक पटक बनाएको प्याड पुनः प्रयोग गर्नेगरी दुई वर्षसम्म काम लाग्छ,’ उनले भनिन्, ‘केमीकलयुक्त प्याड भन्दा यो स्वस्थकर हो, महिनावारी भएको समयमा हामीले सचेतना पनि गराएका छौँ ।’
बजारमा पाइने प्याडले पाठेघरको क्यान्सर समेत हुनसक्ने भएकाले घरेलु प्याड नै उपयुक्त हुने भएकाले उक्त तालिम दिइएको उनले बताइन् ।
आँफैले बनाएको प्याडका कारण पैसा, समयको बचतसँगै केमीकलयुक्त बिनाको हुने हुँदा स्वास्थ्यमा फाइदा हुने उनको भनाइ छ ।














Discussion about this post