इटहरी : इटहरीमा जथाभावी रूपमा राखिएका होर्डिङ बोर्ड हटाउन सुरु गरिएको छ ।
इटहरीको मुख्य चौक आसपासमा जथाभावी रूपमा राखिएका होर्डिङ बोर्ड, ब्यानर र यत्रतत्र रहेका बिजुलीका तारहरू शनिबारबाट हटाउन सुरु गरिएको हो ।
‘बुल्स ११ क्लब’ इटहरीको आयोजनामा इटहरी ६ का वडाध्यक्ष दिवस पोख्रेलसहितको सक्रिय सहभागितामा ब्यानर, होडिङ्ग बोर्ड र तारहरू हटाइएको हो ।
वडाध्यक्ष पोख्रेलका अनुसार जथाभावी रहेका ब्यानर, तार र होर्डिङ बोर्डले सहर कुरुप बनेका कारण हटाउने अभियान सञ्चालन गरिएको हो । अनुमतिबिना बिजुलीका पोलमा राखिएका बोर्डहरू र यत्रतत्र रहेका तार व्यवस्थित गर्न थालिएको हो ।
‘हामीले इन्टरनेट र केवल कम्पनीहरूलाई पटक–पटक जानकारी गराएपनि चासो नदेखिएपछि लत्रिएका तारहरू काटेका छौँ,’ उनले भने, ‘अनावश्यक होर्डिङ बोर्ड र तारका कारण सहरको रुप नै हराएका कारण व्यवस्थित गर्ने अभियान सुरु गरिएको हो ।’
पोलहरूमा जथाभावी अव्यवस्थित तरिकाले राखिएका विभिन्न नेट केबलका तारहरूले इटहरीको सुन्दरतामा असर पुगेको उनको भनाइ छ ।
बुल्स ११ क्लबका उपाध्यक्ष रामु राईले इटहरीमा आँफूहरूले सरसफाई कार्यक्रमको आयोजना गर्दै आएकाले समाजको सकारात्मक हितका निम्ति आगामी दिनमा पनि काम गर्ने बताए ।
उनले भने, ‘हामीले सरसफाईका कार्यक्रमको आयोजना गर्दै आएका छौँ, तर पछिल्लो समय भुइँसम्मै तारहरू लत्रिएका कारण जोखिम भएकाले पनि स्थानीय सरकारको सहयोगमा यो अभियान सञ्चालन गरेका हौँ ।’
Discussion about this post