विराटनगर : विराटनगरको कोसी अस्पतालले बिरामी शिशुलाई मृत घोषित गरेको पाइएको छ ।
आज (बुधबार) बिहान इमरजेन्सी वार्डमा भर्ना भएकी १९ दिने शिशुलाई मृत घोषित गरेपछि विवाद भएको हो ।
बुधबार बिहान विराटनगर १० मा रहेको माइती घरबाट उमादेवी मुखियाले छोरीलाई एम्बुलेन्समा राखेर कोसी ल्याएकी थिइन् । कोसी अस्पतालको इमरजेन्सी वार्डमा भर्ना गरेको केही समय पछि डा. आकाश यादवले मृत घोषित गरेका थिए ।
मोरङको जहदा गाउँपालिकाको वडा नम्बर ३ घर भएपनि उनी बच्चा जन्मिएपछि १० अघि माइतीघर विराटनगर आएकी थिइन् । उनका श्रीमान दिलिम मुखिया एम्बुलेन्स चलाउँछन् ।
१९ दिनको छोरीको मृत्युको खबरले उमासहित आफन्तको रुवाबासी चल्यो । अस्पतालले मृत घोषित गरेपछि दाहसंस्कारका लागि भन्दै माइती घर लिएर गए । तर, घर पुगेपछि शिशुले सास फेरिन् ।
सास फेरेपछि आफन्तले गोल्डेन अस्पताल भर्ना गरे । शिशुको एनआइसियूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कोसी अस्पतालले आफ्नो जिउँदो छोरीलाई मृत घोषित गरेको उमादेवीले गुनासो गरिन् ।
मृत घोषित गरेको शिशुले सास फेरेपछि शिशुका आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि हातपात गरेका छन् । जिउँदै बच्चालाई मृत घोषित गरेको भन्दै आक्रोशित आफन्त र स्थानीयले उपचारमा संलग्न डाक्टर यादवलाई हातपात गरेका हुन् ।














Discussion about this post