विराटनगर : विराटनगरस्थित कोसी अस्पतालमा उपचारका लागि भर्ना भएकी १९ दिने शिशुलाई मृत घोषित गर्ने चिकित्सकलाई कोसी अस्पतालले काम गर्न रोक लगाएको छ ।
अस्पतालले तीन जना स्वास्थ्यकर्मीलाई तत्काल काम गर्नका लागि रोक लगाएको हो ।
छानविनका लागि समिति गठन गरिएको छ । अनुसन्धान नसकिएसम्मका लागि शिशुको उपचारमा संलग्न डा. आकाश यादवसहित अहेब लक्ष्मण माझी र टीका भण्डारीलाई काममा रोक लगाइएको अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए ।
अस्पतालका बालरोग विशेषज्ञ डा. प्रविण झाको नेतृत्वको तीन सदस्यीय छानविन समिति गठन भएको हो । समितिको सदस्यमा बालरोग विशेषज्ञ डा. सर्यकान्त चौधरी र प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहेका छन् ।
छानविन समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने छानविन टोलीका सदस्य समेत रहेका सूचना अधिकारी नेपालले बताए ।
बुधबार बिहान आकस्मिक कक्षमा भर्ना भएकी १९ दिने शिशुलाई मृत भएको भनेर घर फर्काइएको थियो ।
विराटनगर १० मा रहेको माइती घरबाट उमादेवी मुखियाले छोरीलाई एम्बुलेन्समा राखेर कोसी ल्याएकी थिइन् । कोसी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेको केही समयपछि डा. आकाश यादवले मृत घोषित गरेर गम्भीर लापरबाही गरेको पीडित पक्षको दाबी छ ।
मोरङको जहदा गाउँपालिकाको वडा नम्बर ३ घर भएपनि उनी बच्चा जन्मिएपछि १० अघि माइतीघर विराटनगर आएकी थिइन् । उनका श्रीमान दिलिम मुखिया एम्बुलेन्स चलाउँछन् । १९ दिनको छोरीको मृत्युको खबरले उमासहित आफन्तको रुवाबासी चल्यो ।
अस्पतालले मृत घोषित गरेपछि दाहसंस्कारका लागि घर लगेपनि शिशुले श्वास फेरिन् । श्वासप्रश्वासमा समस्या देखिएपछि मुखिया दम्पत्तिले कोसी अस्पतालको आकस्मिक कक्षमा लगेका थिए।
मृत भनिएर घर फर्काएकी बालिकाको श्वास चलेपछि मुखिया दम्पत्तिका आफन्तले गोल्डेन अस्पताल भर्ना गरेका छन् । शिशुको एनआइसीयूमा उपचार भइरहेको छ।














Discussion about this post