धरान : धरान ५ मा खुकुरी प्रहार गरी एक पुरुषले आफ्नै साथीको हत्या गरेका छन् ।
बिहीबार (आज) बिहान धरान ५ स्थित आँपटारमा खुकुरी प्रहारबाट आफ्नै साथीको हत्या भएको छ । अर्की एक स्थानीय महिला गम्भीर घाइते भएकी छन् ।
स्थानीय ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले बिहान करिब ७ बजे आफ्नै घरको किचनमा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
साथै स्थानीय २५ वर्षीय मञ्जु खड्का राईलाई गम्भीर घाइते बनाएका छन् ।
साथीको हत्या गरेर सडकमा निस्किएका विकास पुनः मञ्जुको घरमा गएर खुकुरी निकाली उनीमाथि प्रहार गरेको प्रत्यक्षले बताएका छन् ।
घरमा छिरेर खुकुरी निकाल्न थालेपछि भागेकी मञ्जुलाई नजिकै रहेको सागबारीमा अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिएका थिए ।
खुकुरी प्रहारबाट गम्भीर घाइते मञ्जुलाई उपचाकालागि धरान स्थित विजयपुर अस्पताल पुर्याइएको छ भने, मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।
हत्याको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post