मोरङ : मोरङको दुई छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा गौरादह नगरपालिका ९ का ३१ वर्षीय सबिन खड्का, सुन्दरहरैंचा नगरपालिका १० का ३७ वर्षीय आशिष लामिछाने र धनकुटाको चौबिसे गाउँपालिका ६ का २८ वर्षीय आशिष लिम्बू रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा खड्काको साथबाट प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ ।
खड्काको साथबाट ४ एम्पुलको मात्रामा लुपिजेसिक, ऐभिल, फेनारागन र डाइजोपाम बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । यस्तै, मोरङको सुन्दरहरैँचा घर भएका लामिछाने र धनकुटाको चौबिसे घर भएका लिम्बू भने विराटनगर १५ बाट पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प ३९७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा लागूऔषध फेला परेपछि चालक लामिछाने र सवार लिम्बू दुवैलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको साथबाट १०० मिलिलिटरको डायलेक्स डीसीको बोतल बरामद गरिएको छ । पक्राउ परेका उनीहरूमाथि लागूऔषध ओसारपसारको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post