धनकुटा : धनकुटा बहुमुखी क्याम्पसमा दुई संगठनबीच विवाद भएको छ ।
झडपमा दुई विद्यार्थी घाइते भएका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच झडप भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा नेविसंघ क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की रहेका छन् ।
घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । थप उपचारका लागि भण्डारीलाई भने विराटनगर ल्याइएको प्रहरीले जनाएको छ ।
विद्यार्थी भर्नाको विषयमा बिहीबार अपराह्न झडप भएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले समेत पुष्टि गरे । उनका अनुसार स्नातक तह पहिलो वर्षको नयाँ भर्नाको अन्तिम दिन बिहीबार विद्यार्थी लामबद्ध रहेको बेला विवाद उत्पन्न भएको थियो ।
नेविसंघका विद्यार्थीले फर्जी विद्यार्थी भर्ना कार्य बन्द गर्न दबाब दिएका र अनेरास्ववियुले लाइनमा रहेका सबैको भर्ना हुनुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको जनाइएको छ ।


















Discussion about this post