विराटनगर : विराटनगर ८ स्थित हाटखोलामा रहेको आरोहण गुरुकुल (सुशीला कोइराला नाटक घर) मा नाटक ‘साँढे’ प्रस्तुत गरिएको छ ।
गत सोमबारदेखि सुरु भएको नाटकको शुक्रबार साँझ समापन गरियो ।
भीमनिधि तिवारीले लेखेको कथा ‘साँढे’ कक्षा १२ को अंग्रेजी विषयमा अध्यापन हुँदै आएको छ । नेपाली कथालाई बलबहादुर केसीले अंग्रेजीमा रुपान्तरण गरेसँगै ‘द बुल’ अध्यापन हुँदै आएको छ ।
सोही कथालाई नाटकमा रुपान्तरण गरी प्रस्तुत गरिएको हो । नाटकमा राजाको प्रिय मानिएको साँढे मरेपछि प्रजाहरूमा डर, त्रास र बाँच्नका निम्ति गरिएको जुक्तिले दर्शकलाई मोहित बनाउँछ ।
नाटकका परिकल्पनाकार तथा निर्देशक अशोक गौतमले समाजमा अहिले पनि साँढे प्रवृत्ति विद्यमान रहेकाले उक्त नाटक प्रस्तुत गरिएको बताए ।
‘शासकले आफूलाई मात्र मान्छे ठान्छ, नाटकमा,’ उनले भने, ‘सहरमा घाँस र छरिएका नुन खाने मान्छेहरुको संख्या बढेको बढ्यै छ । काल्पनिक कथा भएपनि त्यस कालखण्डका केही घटना बिर्सन सकेनौँ ।’
दुई सय वर्षअघिको समाजको मनोविज्ञान बोल्दै गर्दा नाटकले विद्रोहको झल्को समेत दिने उनले बताए ।
आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले अझैपनि समाजमा नाटक हेर्ने संस्कार नबसिसकेकाले आँफूहरूले निरन्तर प्रयत्न गरिरहेको बताए ।
‘कहिलेकाहीँ दर्शकको खडेरीमा हुन्छौँ, नाटक हेर्ने संस्कार बसोस् भनेर पनि अभ्यास गरिरहेका छौँ,’ उनले भने, ‘आँफू रोएर अरुलाई हसाउँने विधा हो, नाटक ।’
अझैपनि नाटक ताली र गालीको लागि मात्रै भइरहेकाले यसको संस्कार फेरिनुपर्ने उनको तर्क छ ।
नाटकको कलाकारहरूमा भरत कार्की, विकास पराजुली, रविन चिमरिया, सागर विश्वास, देवेन्द्र यादव, प्रदीप दाहाल, अजय सुवेदी, समीक्षा दाहाल, दीक्षा चौधरी, प्रजल दुलाल, कञ्चन दास, अमन धमला, सुगल अधिकारी, नीरज कार्की रहेका छन् ।
उनीहरूको जीवन्त अभिनयनले नाटक अब्बल बनेको छ ।
यस्तै, ध्वनी परिकल्पना तथा संयोजनमा दीपेश भण्डारी, प्रकाश परिकल्पना भरत कार्की, ध्वनी तथा प्रकाश परिचालन सागर विश्वास, देवेन्द्र यादव, मञ्च परिकल्पना विकास पराजुली, सविन भट्टराई, भेषभूषा समीक्षा दाहाल, नृत्य, एलेक्स मगर, गीत याक्दुहाङ धीरज, आवरण चित्र मुकुन्द प्रयास, बजार व्यवस्थापन अभिषेक गौतम, बक्स अफिस किरण खड्का, अनुषा कटवाल, व्यवस्थापन भैरव क्षेत्री र भवानीप्रसाद अधिकारीले गरेका छन् ।
तस्वीरहरू : उजल दुलाल ।
Discussion about this post