इटहरी : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल सञ्चालन गर्ने आश्वासन दिएका छन् ।
आइतबार ११ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयको सुधारसँगै मेडिकल कलेज सञ्चालन गर्ने आश्वासन दिएका हुन् ।
‘लोकतान्त्रिक मूल्य मान्यता र लोककल्याणकारी संस्कारका साथै स्थानीय, प्रदेश र संघीय सरकारलाई समन्वय गर्न पनि विश्वविद्यालयको आवश्यकता छ,’ प्रधानमन्त्री दाहालले भने, ‘ऐन कानुनमा देखिएका समस्यालाई समाधान गर्दै स्थानीय स्तरमा मेडिकल कलेज पढ्न पाउने व्यवस्था गर्नेमा सरकार प्रतिबद्व छ ।’
प्रधानमन्त्री दाहालले नेपालका विश्वविद्यालयहरूले सैद्वान्तिक ज्ञान मात्र नभइ जीवनउपयोगी र व्यवहारिक शिक्षा आवश्यकता रहेको तर्क गरे ।
नेपालमा भएका विश्वविद्यालयले उत्पादन गरेका दक्ष जनशक्तिले मात्रै विश्व बजारमा प्रतिष्पर्धा गर्ने भएकाले विश्वविद्यालयको ध्यान आकृष्ट गराए । शिक्षा क्षेत्रको सुधारका निम्ति वर्तमान सरकारले शिक्षामन्त्री अशोक कुमार राईको नेतृत्वमा ठोस योजना बनाएर काम गर्ने दाहालले बताए ।
लामो समयदेखि मेडिकल कक्षा सञ्चालनको अनुमति कुरेर बसेको यो विश्वविद्यालयलाई आफ्नै नेतृत्वको मन्त्रिपरिषद् बैठकले अनुमति प्रदान गर्न पाउँदा खुसी लागेको बताउँदै बाँकी कामका लागि पनि सरकार तयार रहेको बताए ।
दीक्षान्त समारोहमा कला शंकायमा स्नातकतर्फ ९२, स्नातकोत्तरतर्फ ४३ जनालाई दीक्षान्त प्रदान गरिएको छ ।
यस्तै, कानुन संकायतर्फ स्नातकतर्फ १९९ स्नाकोत्तर १०७,शिक्षाशास्त्र संकायतर्फ स्नातकतह ३५४ र स्नाकोत्तर तर्फ १४८, व्यवस्थापनमा स्नातक तहतर्फ एक हजार २४२, स्नातकोत्तरतर्फ ६१४ र एमफिलतर्फ ६ जना दीक्षित भएका छन् ।
यस्तै, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि शंकायमा स्नातकतर्फ एक हजार २६१ स्नातकोत्तरतर्फ १२३ र एमफिल गर्ने ६ जना गरी जम्मा ६ हजार हजार ५१३ जना दीक्षित भएको बताइएको छ ।
जसमध्ये एक हजार ९१३ जना भने सोही कार्यक्रममा उपस्थित भएका थिए ।

तस्वीरहरू सौजन्य : प्रदीपराज वन्त ।











Discussion about this post