धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा अध्यक्षहरूको राजीनामा माग गरेकोमा माफी मागेका छन् ।
साम्पाङले वडाध्यक्षहरूले राखेको ५ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ६१ दिनपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बसेको छ ।
उनले आफ्ना स्वकीय सचिव सन्दीप लिम्बूले वडाध्यक्षलाई निर्देशन सहित पठाएको पत्र पनि फिर्ता गरेको बताएका छन् ।
स्वकीय सचिवले पत्र पठाएको विषयमा कार्यपालिका बैठकमा प्रश्न गर्ने धरान १० का वडा अध्यक्ष विवेक राईलाई सोधिएको स्पष्टीकरण समेत फिर्ता लिएको बताएका छन् ।
धरानका मेयर हर्क साम्पाङगका स्वकीय सचिव लिम्बूले भौतिक निर्माणको प्रगति सहितको विवरण पठाउन वडाध्यक्षलाई पत्र पठाएपछि वडाध्यक्ष र मेयरकाबीचमा विवाद उत्पन्न भएको थियो ।
विवाद बढेपछि ६१ दिनदेखि धरान उपमहानगरपालिकाको कार्यपालिका बस्न सकेको थिएन । मेयर र वडाध्यक्षबीच विवाद बढ्दै गएपछि केहीदिन अघि धरान १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराई (मनोज) माथि साम्पाङ सर्मथकहरुले हातपात र मोसो दल्ने प्रयास समेत गरेका थिए ।
घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको छ । विवाद बढ्दै गएपछि राजनीतिक दलहरूले पटक पटक साम्पाङ्गलाई आफ्नो कार्यशैली सच्याउन आग्रह गरेका थिए ।
प्रदेश र सङ्घीय सरकारको बजेट कार्यान्वयन गर्ने कुरामा उपमहानगरपालिकालाई जानकारी दिएर कार्यान्वयन गर्ने सहमति जनाएका छन् ।














Discussion about this post