विराटनगर : कोसी प्रदेश सरकारले तीन निर्णय गरेको छ । प्रदेश योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डिल्लीराम उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
महेन्द्ररत्न क्याम्पस ताहाचलमा प्राध्यापन गर्दै आएका उप्रेतीले त्रिभुवन विश्व विद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी निभाइसकेका छन् । उनी अर्थशास्त्रका प्राध्यापक हुन् ।
यस्तै, बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानूनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामाजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
उता, प्रदेश सरकारले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई पोशाक सुविधा प्रदान गर्नेसम्बन्धी कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।
Discussion about this post