विराटनगर : कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचानवादीहरूको माग सम्बोधन गर्न नेपाली कांग्रेस प्रदेश समितिले सरकारसमक्ष माग गरेको छ। बिहीबार पार्टी प्रदेश सभापति एवम् संसदीय दलका नेता उद्धव थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।
तत्कालीन प्रदेश १ को नाम प्रदेशसभाले ‘कोसी’ राखेपछि त्यसको विरोधमा आन्दोलन गर्दे आएको पहिचान पक्षधरहरूलाई प्रहरी प्रशासनले बल प्रयोग गर्न नहुने उनले जनाएका छन्।
‘कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलनरत प्रदेश १ नामांकन संघर्ष समितिको तर्फबाट विभिन्न आन्दोलनका कार्यक्रमहरू भइरहेका छन्। यसै संदर्भमा आन्दोलनरत सम्पूर्ण साथीहरूलाई शान्तिपूर्ण, संयमित र मानव अधिकारको उल्लंघन नहुने गरी जायज मागहरू राख्न आग्रह गर्दछौं। साथै कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाई उचित मागहरूलाई यथासक्य सम्बोधन गर्नहुन ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकट गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने तथा दुर्व्यवहार गर्ने कार्य रोक्न आग्रह गर्दै परिस्थितिलाई शान्त बनाउँदै शान्तिपूर्ण निकास र समस्या समाधानको लागि सबै पक्षबाट सकारात्मक पहलको लागि आग्रह गर्दछौं।’
नामकरणविरुद्ध आन्दोलनका क्रममा प्रहरीको बल प्रयोगबाट ज्यान गुमाएका पदम लिम्बू लाजेहाङप्रति उनले श्रद्धाञ्जली व्यक्त गर्दै गजेन्द्र फागो र निर्मला क्षेत्री लिम्बूलगायत घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन्। घाइतेहरूको सम्पूर्ण औषधी उपचारको खर्च व्यहोर्न पनि उनले प्रदेश सरकारसँग माग गरेका छन्।












Discussion about this post