इलाम : प्रतिबन्धित लागूऔषधसहित इलाममा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मेची राजमार्गस्थित इलामको सूर्योदय नगरपालिका ८ को छिपिटार भन्ने स्थानबाट मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा इलाम नगरपालिका ९ गोल बस्ती बस्ने २७ वर्षीय रोशन खवास, फाकफोकथुम गाउँपालिका १ बस्ने २५ वर्षीय मल लिम्बू र इलाम सन्दकपुर गाउँपालिका ४ माबु बस्ने २७ वर्षीय निशान गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पक्राउ पर्नेहरूको साथबाट प्र.–१–०२–०४१ प ३४१७ नम्बरको बुलेट बाइक नियन्त्रणमा लिइएको छ । झापाबाट इलाम आउँदै गरेको अवस्थामा उनीहरूलाई खानतलास गर्दा सो सामग्री पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट खैरो हेरोइन (ब्राउनसुगर) जस्तो देखिने ४ वटा पोका (१९ ग्राम ३३० मिलिग्राम), नियन्त्रित औषधि निट्राजेपम १० एमजीका २६ वटा क्याप्सुल, चुरोटको छ वटा बट्टा, लाइटर, तीन थान मोवाइल लगायतका सामग्री समेत बरामद गरिएको छ ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post