इटहरी : इटहरी रंगशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय महिला रात्रीकालीन भलिबल प्रतियोगितामा बिभागीय टिम नेपाल पुलिस र एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।
सोमबार राति सम्पन्न खेलहरूमा पुलिसले अर्को बिभागीय टिम त्रिभुवन आर्मी क्लबलाई र एपीएफले बागमती प्रदेशलाई पराजित गरेको हो ।
खेलमा पुलिसले आर्मीमाथि ३–० को सोझो सेटले विजयी गर्यो । पहिलो सेट २५–२० ले जितेको पुलिसले दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–२१ ले जित्यो । उक्त खेलको म्यानअफ द म्याच पुलिस क्लबकी कामना बिष्ट घोषित भइन् ।
पहिलो दिनको खेलसँगै समूह ए मा रहेको एपीएफले ३ अंक जोडेको छ भने समूह बी को पुलिसले पनि ३ अंक जोडेको छ ।
समूह ए मा एपीएफसँगै बागमती र कोसी प्रदेश रहेका छन् । समूह बी मा आर्मीसहित नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश रहेका छन् । दुवै समूहबाट समूह बिजेता र उपबिजेता सेमिफाइनलमा प्रतिष्पर्धा गर्न पाउनेछन् ।
खेल जेठ ३२ गतेसम्म चल्नेछ । खेलमा सहभागी ६ वटा टिम रहेको जिल्ला भलिबल संघ सुनसरीका अध्यक्ष बिक्रमबाबू थापाले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद तीन लाख र उपबिजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५५ हजार पाउने छन् ।
यस्तै, उत्कृष्ट विधाहरू अन्तर्गत बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर र डिफेण्डरलाई जनही १५ हजार प्रदान गरिने बताइएको छ ।
Discussion about this post