मोरङ : मोरङको रंगेली र लेटाङबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
रंगेली नगरपालिका ७ स्थित मालपोत कार्यालय नजिक रहेको एक होटलबाट ब्राउनसुगरसहित २ जनालाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले रंगेली ६ का २४ वर्षीय शेफ खान र सोही ठाउँका २८ वर्षीय दीपेश अग्रवाललाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको बताए ।
बिहीबार रंगेलीको एक होटलमा लागूऔषध ब्राउनसुगर खरिद बिक्री हुँदै भन्ने सूचनाका आधारमा छापा मार्दा पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगर ५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, लागुऔषध गाँजा र प्रतिबन्धित औषधिसहित ३ जना बुधबार साँझमा लेटाङबाट पक्राउ परेका छन्।
लेटाङ नगरपालिका ८ का २६ वर्षीय अभिषेक दर्जीले प्रतिबन्धित औषधि लुकाइछिपाई राखेको अवस्था भेटिएको थियो।
दर्जीको साथबाट ट्रामाडोल ६ सय ४५ चक्की, ट्रामाडोलको खोलहरू १० पत्ता, स्पासपेन ७ सय ५३ चक्की फेला परेको थियो।
प्रतिबन्धित औषधिसहित पक्राउ परेका दर्जीलाई आवश्यक कारबाहीका लागि विराटनगरस्थित औषधि व्यवस्था विभागमा बुझाएको प्रहरीले जनाएको छ।
लेटाङबाटै लेटाङ ८ का २० वर्षीय दिवाहाङ राई र सोही ठाउँका २० वर्षीय पवन बाग्दासलाई लागूऔषध गाँजा ४ पोका (५०० ग्राम), गाँजा तान्ने बाँसको पाइप थान–१, लाइटर थान–१ सहित पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post