मोरङ : मोरङको लेटाङमा १५ दिनको अवधिमा १७ जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।
घरघरमा भण्डारण गरेर राखिने अवैध औषधि रकम लिएर लागूऔषधका प्रयोगकर्तालाई उपलब्ध गराउने सूचना पाएसँगै विशेष अप्रेसन थालिएको प्रहरीले जनाएको छ ।
बिना इजाजत अवैध औषधि खरिदबिक्री भईरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट पुगेको टोलीले राति ८ः३० बजेतिर लुसान बर्देवालाई पक्राउ गरेको छ ।
बर्देवाको घरमा खानतलासी गर्दा स्पासपेन ३ सय १२ र ट्रामाडोल ३ सय ट्याब्लेट बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । प्रहरीले असार २८ गते लेटाङबाटै गाँजासहित ४ जनालाई पक्राउ गरेको छ ।
लेटाङ ९ का २२ वर्षीय झुप्पे भनिने वसन्त मगर, २१ वर्षीय संयोग बुर्जा मगर, २० वर्षीय आशुतोष राई र १९ वर्षीय प्रयास राई पक्राउ परेका हुन् ।
प्रहरीले असार २६ गते लेटाङ ३ कृतिमानबाट लागूऔषध ब्राउनसुगरसहित २३ वर्षीय थीरबहादुर राउत र २२ वर्षीय एनोश तामाङलाई पक्राउ गरेको छ । उनीहरूबाट ४९ मिलिग्राम हेरोइन बरामद भयो ।
गाँजा र प्रतिबन्धित औषधिसहित असार २० गते लेटाङ ९ का २० वर्षीय दिवाहाङ राई र पवन बाग्दासलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले खानतलासी गर्दा घरबाट लागूऔषध गाँजा आधा किलो तथा प्रतिबन्धित औषधीहरू स्पासपेन २ सय र ट्रामाडोल २ सय ट्याब्लेट बरामद भएको थियो ।
राई र बाग्दाससँगै गाँजाको अवैध धन्दामा संलग्न रहेको पाइएपछि असार २८ गते थप ४ जना पक्राउ परेका हुन् ।
प्रहरीले असार २० गते नै लेटाङ ८ का २० वर्षीय सुवास कार्की र २५ वर्षीय लोकेश राईलाई पनि पक्राउ गरेको थियो । घरबाट स्पासपेन ५ सय ५३ र ट्रामाडोल ४ सय ४५ ट्याब्लेट बरामद भएपछि लेटाङ ९ का २६ वर्षीय अभिषेक दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, असार १६ गते लेटाङका २ वटा घरमा प्रहरीले छापा हानेको थियो । बिना इजाजत प्रतिबन्धित औषधि लुकाएर एवं सञ्चय गरेर घरमा राखेको पाइएपछि लेटाङ ३ का तेजनकुमार राई पक्राउ परेका थिए ।
प्रतिबन्धित औषधिको कारोबारमा संलग्न लेटाङ ३ का श्यामकुमार लिम्बू फरार छन् ।
लेटाङका ग्रामीण क्षेत्रमा पछिल्लो समय लागूऔषध एवं प्रतिबन्धित औषधि फेला पर्न थालेपछि प्रहरीले विशेष निगरानी बढाएको जनाएको छ ।












Discussion about this post