मोरङ : मिटरब्याज पीडित एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा विष सेवन गरेका विनित सोनारको मृत्यु भएको हो । साउन ७ गते प्रशासन कार्यालय मोरङबाट छलफल सकेर बाहिरिने क्रममा प्रहरीले पक्राउ गरेपछि कार्यालय परिसरमै उनले विष सेवन गरेका थिए ।
कटहरी गाउँपालिका ३ का ३२ वर्षीय सोनारको मृत्यु भएको हो ।
डा. नितेष तिवारीविरुद्ध सोनारकी पत्नी रीता सोनारले मिटरब्याजबाट पीडित भएको उजुरी दिएकी थिइन् । प्रशासन कार्यालय मोरङले दुवै पक्षलाई साउन ७ गते छलफलका लागि बोलाएको थियो ।
विष सेवनबाट गम्भीर घाइते भएका उनलाई सुरुमा कोशी अस्पताल र त्यसपछि नोबेल मेडिकल कलेज लगिएको थियो । नोबेलमा उपचारका क्रममा मृत्यु भएको मोरङका डिएसपी छेदीलाल कामतीले जानकारी दिए ।
तिवारीविरुद्ध मिटरब्याजको उजुरी दिएका सुनारलाई प्रहरीले दुईवटा छुट्टाछुट्टै चेक बाउन्स मुद्दामा पक्राउ पूर्जी जारी गरेको थियो ।
साउन ७ गते मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहले दुवै पक्षलाई राखेर छलफल गराएका थिए ।
साहका अनुसार दुई पक्षबीच लेनदेनको कागजात छैन । पीडितले आफूले सात लाख रुपैयाँ ऋण लिएको दाबी गरेका छन् । डा. तिवारीले भने १५ लाख रुपैयाँ दिएको दाबी गरेका थिए ।













Discussion about this post