इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पहिलो पटक इटहरीका सन्तोष अधिकारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले एक सूचना प्रकाशित गर्दै सिस्टममा अपडेट भएर सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस आएका व्यक्तिहरू मात्र स्वयम् उपस्थित भएर राष्ट्रिय परिचय पत्र लिन आग्रह गरेको छ ।
प्रजिअ पाण्डेले आफ्नो परिचयपत्र आए–नआएको जानकारी लिएर मात्र कार्ड लिन आउन आग्रह गरेकी छन् ।
उनका अनुसार राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट छपाई गरी ५० हजार परिचय पत्रहरू जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयमा बायोमेट्रिक गरेका व्यक्तिहरूको परिचय पत्र छपाई गरी आएको हो ।
प्रशासन कार्यालयमा प्राप्त भएका परिचय पत्रहरूलाई क्रमशः वितरण गरिने जनाएको छ । कार्यालयमा प्राप्त भएका राष्ट्रिय परिचय पत्र प्रशासनको सिस्टममा अपडेट गरेपछि सम्बन्धित व्यक्तिको मोबाइल नम्बरमा एसएमएस जानेछ ।
परिचयपत्र फर्म भर्दा उपलब्ध गराएको मोबाइल नम्बरमा सिस्टममा अपडेट गरेपछि स्वतः एसएमएस जानेछ । सो एसएमएस आएका व्यक्तिहरूलाई मात्र कार्ड वितरण गरिने सुनसरी प्रशासनले जनाएको छ ।
Discussion about this post