इटहरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले मिटर ब्याजबिरुद्धको सुनुवाइमा सफलता हात पारेको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयमा परेको ४ करोड ६० लाख दाबी सहितको मिटर ब्याजीबिरुद्धको उजुरी १ करोड १० लाखमा सल्टाइएको छ ।
आफू पीडित भएको भन्दै प्रशासन पुगेका धरानका इन्द्र मोक्तानको उजुरी उपरको अनुसन्धान र छानबिनलाई टुङ्ग्याउँदै प्रशासनले पीडित पक्षलाई न्याय दिलाएको हो । पीडित मोक्तानका अनुसार उनले ४ वर्ष अघि धरानकै मणिराज राईबाट ५४ लाख रुपैयाँ ऋण ब्याजमा लिएका थिए ।
आफूसँग दोहोरो कागज गराइएको बताउने मोक्तानले चेक बाउन्स समेत गराई ४ करोड ६० लाख दाबी गरिएपछि मिटर ब्याजमा उजुरी हालेको बताए ।
मोक्तानले मिटर ब्याजका कारण तनावपूर्ण अवस्था निम्तेपछि सरकारले ल्याएको अध्यादेश बमोजिम न्यायको माग सहित सुनसरी प्रशासनमा उजुरी हालेका थिए । उजुरी उपर छानबिन पश्चात् प्रशासनबाट आफूले न्याय पाएकोमा उनले खुशी व्यक्त गरे ।
सुनसरी प्रशासनले उक्त उजुरी छानबिन गरी टुङ्ग्याएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्राप्त कागजात र यथेष्ट प्रमाणका आधारमा मिटर ब्याजीबिरुद्धको उजुरी उपर छिनोफानो गरी टुङ्ग्याइएको बताइन् ।
प्रजिअ पाण्डेले उजुरीसँग सम्बन्धित यथेष्ट प्रमाण जुटाउन सके पीडितले सहजै न्याय पाउने बताइन् ।
पाण्डेले जिल्लामा ५ सय बढी मिटर ब्याजका उजुरी परेको र छानबिनको क्रममा रहेको उनको भनाइ छ ।
Discussion about this post