मोरङ : मोरङको रंगेलीमा दुर्घटना हुँदा एक नाबालकको मृत्यु भएको छ । दुर्घटनामा नाबालककी आमासहित दुईजना घाइते भएका छन् ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार रंगेली नगरपालिका २ मंगलबारेमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २६२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को २४ प ९४६२ नम्बरको मोटरसाइकल एकअपासमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा सुनवर्षी नगरपालिका ४ घर भई विराटनगर महानगरपालिका ४ कञ्चनबारीमा डेरा गरी बस्ने बबिता राजवंशीका छोरा ३ वर्षीय दीक्ष राजवंशीको मृत्यु भएको हो ।
दुर्घटनामा नाबालक दीक्ष गम्भीर घाइते भएका थिए । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा राति ८ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
दुर्घटनामा परेर नाबालककी आमा अन्दाजी ३० वर्षीया बबिता गम्भीर घाइते भएकी छन् । गोल्डेनबाट बबितालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल रेफर गरिएको छ । आमा–छोरा मोटरसाइकलको पछाडि सवार थिए ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर कञ्चनबारीका अन्दाजी ४६ वर्षीय दिनेश राजवंशी घाइते भएका छन् ।
उनको गोल्डेनमै उपचार भइरहेको छ । दुर्घटनालगत्तै बस र चालक रंगेली ७ का ३८ वर्षीय गंगाराम श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।













Discussion about this post