इटहरी : कोसी प्रदेशमा स्थिर सरकार बनाउनको लागि नेकपा एमालेले नेपाली कांग्रेसलाई सत्तामा साझेदारीको प्रस्ताव गरेको छ।
एक जनामात्र सांसद कम भए बहुमत नपुग्ने झिनो अन्तरमा गठन भएका सरकार टिक्ने छाँटकाँट नदेखिएपछि अब एमालेले ठूला दुई दलको सहकार्यमा दुई तिहाइको सरकार गठनको प्रस्ताव गरेको हो।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ। यसअघि ४७ जनाको समर्थन जुटाएर सरकार गठन गर्ने प्रयास भएका थिए तर ती सरकारले विश्वासको मत पाउन सकेनन्।
प्रदेशसभामा एमालेका ४० सांसद छन्। कांग्रेसका २९ जना सांसद छन्। यी दुई प्रमुख दल मिलेर सरकार गठन गरेमा त्यो सरकार दुई तिहाइभन्दा धेरै मतको समर्थनमा बनेको सरकार हुनेछ।
९३ सदस्यीय प्रदेशसभामा ६३ सांसदको समर्थन भए दुई तिहाइ बहुमत पुग्छ। एमाले र कांग्रेस मिल्दा उनीहरुको पक्षमा ६९ सांसद हुन्छन्।
प्रदेशमा अहिले एमाले र राप्रपाको एउटा गठबन्धन छ भने अर्कोतिर कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धन छ।
यसअघि कांग्रेस माओवादी गठबन्धनले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर आफ्नो पक्षमा ४७ सांसदको समर्थन जुटाएर सरकार गठन गरेको थियो ।
अहिले प्रदेशसभामा संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन्। तर, उनको पक्षमा पनि बहुमत छैन।



















Discussion about this post