इटहरी : आज हरितालिका तीज । नेपाली हिन्दु महिलाहरूले व्रत बसी शिवको पूजा गरी मनाउँदैछन्।
प्रत्येक संवत्सरको भाद्रशुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा विशेष गरी भगवान् शिवलाई खुसी पार्न व्रत लिने र पार्वतीसहित उनको पूजाआराधना गरिन्छ ।
भगवान शिवको पूजा गर्न शिवका विभिन्न मन्दिरहरूमा भीड लाग्ने गरेको छ ।
अनादि कालमा आद्यशक्ति हिमालयपुत्री पार्वतीले ‘भगवान् शिवलाई पति रूपमा पाऊँ’ भनी व्रत गरेको शिवपुराणमा उल्लेख छ । राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने भएपछि आफूले मन पराएको वर पाउन उनले शवजीको तपस्या गरिन् ।
लामो समयसम्म तपस्या गर्दा पनि आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिंग स्थापना गरी व्रत बसेकी थिइन् । अन्ततः उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको शास्त्रमा उल्लेख छ । सोही आधारमा तीज उत्सव मनाउन थालिएको नेपाल संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागप्रमुख प्राध्यापक डा. देवमणि भट्टराई बताउँछन् ।
उनका अनुसार आफ्नो शरीरको अवस्थाअनुसार निराहार, जलाहार, फलाहार, एकछाक खाने वा अत्यन्त अशक्त अवस्थामा भोजन गरेरै भए पनि हरितालिका तीजको व्रत गनुपर्ने धार्मिक मान्यता रहेको छ ।
Discussion about this post