इटहरी : कोसी प्रदेशमा डेङ्गु सङ्क्रमितको सख्या २० हजार नाघेको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै कोसी प्रदेशमै छन् । जसमध्ये सुनसरीमा सबैभन्दा बढी संक्रमित छन् ।
कोसी प्रदेशमा २० हजार ९२४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यस्तै, बाग्मती प्रदेशमा ४ हजार २४६ जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा ८७९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८१३, मधेस प्रदेशमा ५६४, लुम्बिनी प्रदेशमा ४६८ र कर्णाली प्रदेशमा ७४ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
नेपालमा डेङ्गु सङ्क्रमितको सङ्ख्या साढे २७ हजार नाघेको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार हालसम्म देशभर २७ हजार ९६८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
हालसम्म १५ जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ ।
देशमै सबैभन्दा बढी सुनसरीमा १५ हजार ८८१ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
Discussion about this post