मोरङ : नेपाल पत्रकार महासंघ मोरङको कार्यालयमा तालाबन्दी गरिएको छ ।
महासंघ मोरङको कार्यबाहक अध्यक्ष खुल्ला उपाध्यक्ष मोहन भट्टराईले विधानतः पाउनुपर्नेमा अन्यथा भएको भन्दै प्रेस सेन्टर मोरङले तालाबन्दी गरेको हो । महासंघ मोरङका अध्यक्ष सञ्जीव खनाल १० दिन अगाडि विदेश गएका थिए ।
उनले विदेशबाटै गत भदौ २९ गते महिला उपाध्यक्ष तारा आचार्यलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको थियो । उक्त पत्र नक्कली रहेको र कार्यबाहक अध्यक्ष तोक्ने विषयमा विधानले अध्यक्षलाई अधिकार नै नदिएको सेन्टरको दाबी छ ।
पत्रकार महासंघको विधानको दफा २२ ले अध्यक्षको अनुपस्थिति वा देशबाहिर रहेमा दोस्रो बरियताको उपाध्यक्षले कार्यबहाक अध्यक्षको रूपमा काम गर्ने व्यवस्था छ ।
दोस्रो वरियताको उपाध्यक्ष अनुपस्थित भएमा वा देशबाहिर रहेको अवस्थामा मात्र तेस्रो वरियताको उपाध्यक्ष (महिला) ले कार्यबाहक अध्यक्ष पाउने विधानको व्यवस्था रहेको छ ।
प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले महासंघको कार्यालयमा तालाबन्दी गर्दै कार्यबाहकको विषयको विवाद समाधानका लागि पत्रकार महासंघको प्रदेश समिति र केन्द्रीय समितिलाई आग्रह गरिएपनि ढिलासुस्ती गरेपछि तालाबन्दी गरेको बताए ।
विधानअनुसार भट्टराईलाई कार्यबाहक तोकेको पत्र प्रदेश र केन्द्रले दिएपछि मात्रै तालाबन्दीको अन्त्य गरिने उनको भनाइ छ ।
Discussion about this post