विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोसी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताएका छन् ।
प्रगतिशील तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोसी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले भने, ‘कोसी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु प¥थ्यो, त्यसरी उठेन । बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागि भएको पाइयो ।’
तत्कालीन प्रदेश नं १ को कोसी नामकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले बताए ।
कोसीनामकरण विरुद्ध जर्बजस्ती आन्दोलन उठाइएको बताउँदै स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरूको सहयोगमा काठमाडौ देखिका मानिसहरू ल्याउन थालिएको उनको दाबी छ ।
यहाँपनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको उनले आरोप लगाए ।
मुख्यमन्त्री कार्कीले कोसी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरूले आ–आफ्नो धारणा सार्वजनिक गरेपनि राष्ट्रिय स्वतन्त्र पार्टीको धारण प्रस्ट नआएकोमा आश्चर्य व्यक्त गरे ।
एमालेका अगाडि धेरै समस्या नरहेको प्रस्ट पार्दै एमाले अरुका कारणले नभएर आफ्नै खुट्टामा अल्झिएर लड्ने गरेको उनको भनाइ थियो । मुलुकमा एमाले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गर्दै तर धेरै ठाउँमा एमालेले नै एमालेलाई हराएको उनले बताए ।












Discussion about this post