खोटाङ : जिल्ला प्रशासन कार्यालय खोटाङले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिकमा ताला लगाएको छ ।
दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त क्लिनिकमा ताला लगाइएको होे ।
उक्त डेन्टलले बिना इजाजत न्युनकतम मापदण्ड पनि पूरा नगरी काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जानकारी दिए ।
गत साउन ९ गते गरिएको बजार अनुगमनका क्रममा त्रुटि गरेको पाइएपछि सच्याउन निर्देशन दिएको लामो समयपछि पनि आवश्यक प्रक्रिया पूरा नगरिएका कारण क्लिनिक सिल गरिएको जनाइएको छ ।
दाँतको स्क्रिनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको डेन्टल क्लिनिकमा जोखिम मोलेर दन्त चिकित्सकले गर्ने सम्पूर्ण उपचार नै गरेको पाइएको थियो ।
चाडबाडलाई लक्षित गरी प्रशासनले जिल्लामा सञ्चालित हाटबजार, खुद्रा तथा होलसेल पसल, फार्मेसी एवम् क्लिनिकहरूमा कडाइका साथ अनुगमन सुरु गरेको छ ।
Discussion about this post