विराटनगर : कोसी प्रदेशले आज (शुक्रबार) प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री पाउँदै छ । संविधानको अन्तिम विकल्प प्रयोग गरेर सरकार गठनको आह्वान भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि अपरान्ह ५ बजेसम्मको दिएको समयसीमा दिएका छन् ।
समयभित्र नै मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने हुन्छ । कोसीमा यसअघि संविधानका सबै उपधाराको प्रयोग गरेर सरकार गठन भइसकेको छ । प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार दाबी पेस गरेका छन् ।
आङ्बोले गठबन्धनबाट दाबी गरेका हुन् । तर, गठबन्धनको निर्णयविपरीत कांग्रेसका डा. शेखर कोइराला समूह र नेकपा (एमाले)का प्रदेशसभा सदस्यको समर्थनमा कार्कीले मुख्यमन्त्री दाबी पेस गरे । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार मुख्यन्त्रीमा दुई जनाको दाबी पेस भएको छ ।
उनले दाबी पेस गर्नेमध्ये प्रचलित कानुनलाई आधार बनाएर प्रदेश प्रमुखले एक जनालाई मुख्यमन्त्री नियुक्त गर्ने बताए । कोशीको ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य चाहिन्छ ।



















Discussion about this post