इटहरी : कोसी प्रदेशमा सांसदहरूको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्ति गरिने भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।
यसका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयमा सनाखत गर्न भनिएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय थियो । तर, समय सकिएपनि शुक्रबार भने मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेन ।
शुक्रबार बहुमत सदस्यसहित केदार कार्कीले आँफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका थिए । तर, कार्कीसहित एमाले नेता हिक्मत कार्कीलाई प्रदेश प्रमुख खापुङले शनिबार सांसदहरूको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने प्रस्ताव गरे ।
उक्त प्रस्तावमा उपस्थित सांसदहरूले भने विरोध जनाउँदै शुक्रबार नै मुख्यमन्त्री नियुक्त हुनुपर्ने माग राखेका थिए ।
मुख्यमन्त्रीमा कांग्रेस संस्थापन पक्ष, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलले माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो र नेपाली कांग्रेसका डा. शेखर कोइराला समूह र नेकपा एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले दाबी पेस गरेका छन् ।
केही सांसदहरूको हस्ताक्षर दुवैतिर देखिएपछि प्रदेश प्रमुख खापुङले सनाखत गर्ने तयारी गरेका हुन् ।













Discussion about this post