धरान : कवि चन्द्र गूरुङको कविता कृति ‘जब एउटा मान्छे हराउछ’ र मिरिक दार्जिलिङ (भारत) निवासी विजय बान्तवा कैलाशीको गद्य संग्रह ‘मित्याङ्सा’ लाई ‘विमल गुरुङ कृति पुरस्कार–२०७९’ संयुक्त रुपमा दिने निर्णय भएको छ ।
कवि विमल गुरुङ स्मृति पुस्तकालयले शनिबार फूलपातीको दिन पुरस्कार घोषणा गर्दै दुइ कृतिलाई संयुक्त रूपमा पुरस्कार प्रदान गरिने जानकारी दिएको हो ।
पुस्तकालयका तर्फबाट राज माङ्लाकले चन्द्र गुरुङको कविता कृति ‘जव एउटा मान्छे हराउँछ’ नेपाली साहित्यमा शालीन शैलीमा व्यक्त जीवनका शाश्वत मुल्यको खोजी गरिएका कविताहरुको संग्रह भएको जनाउँदै पुरस्कार योग्य भएको बताए ।
यसैगरी मिरिक निवासी विजय बान्तवा कैलाशीको कृति ‘मित्याङ्सा’ दार्जिलिङ क्षेत्रमा नेपाली भाषी गोर्खालीहरूले भोग्दै आएको भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक आन्दोलनको आरोह–अवरोहलाई सुन्दर शैलीमा पस्किएको गद्य कृति भएकाले पुस्तकालयले ०७९ को विमल कृति दुवै जनाको कृतिलाई प्रदान गर्ने निर्णय गरिएको माङ्लाकले बताए ।
पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णवहादुर गुरुङले विमल कृति पुरस्कारकालागि आव्हान गरेअनुसार स्वदेश तथा विदेशमा रहेका नेपाली भाषी लेखक, साहित्यकारबाट १०१ कृति प्राप्त भएका मध्ये पहिलो चरणमा श्रेष्ठ २१ ओटा कृति छनौट गरिएको र साही मध्येबाट उत्कृष्ट दुई कृति पुरस्कारका निम्ति चयन गरिएको बताए ।
उक्त पुरस्कार कात्तिक १९ गते आयोजना हुने ३२ औं राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५२ औं जन्मजयन्तीको अवसरमा नगद राशी दुइलाख रुपैया, ताम्रपत्र र दोसल्लासहित प्रदान गरिने उनले जानकारी दिए ।
Discussion about this post