इटहरी : यमपञ्चकको पाँचौँ दिन बुधबार भ्रातृद्वितीया अर्थात् भाइटीका । दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्ने पर्व।
पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि उल्लेख छ।
दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी,यमराज र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा छ ।
दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने र ओखरको पूजा गरी फोर्ने लगायतका प्रक्रिया अपनाउँछन्। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन्।
दिदीबहिनीको पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने मान्यता रहेको धर्मशास्त्री प्रा.डा. रामचन्द्र गौतमले बताए।
टीका लगाएसँगै दिदीबहिनीले सेलरोटी, फलफूल, मसला आदि सगुन दिने र दाजुभाइले पनि गच्छेअनुसार दक्षिणा र लुगाफाटो उपहार दिने चलन छ।
पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बिहान १० बजेर ५१ मिनेटको समय उत्तम रहेको जानकारी दिए। यद्यपि दिनभर टीका लगाउन सकिने उनको भनाइ छ ।














Discussion about this post