इटहरी : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उर्लाबारी आगलागीका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शनिबार मुख्यमन्त्री कार्कीले अस्पतालमा पुगेर उपचार खर्च सरकारले व्यहोर्ने जानकारी गराए ।
कार्कीले भने, “घाइतेको उपचारको सबै प्रबन्ध संघीय सरकारबाट गरिने भएको छ । यसबारे म आफैँले संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग भेटघाट गरी उपचार प्रबन्धको जिम्मेवारी लिन आग्रह गरेँ । उहाँले सरकारले गर्ने भन्ने प्रतिबद्धता जनाउनुभयो ।”
आगलागीमा परी घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर रहेको बर्न अस्पतालले जनाएको छ । ती सबै झापाको बीएन्डसी अस्पतालबाट ‘रेफर’ गरिएका घाइते हुन् ।
तीमध्ये तीनजनाको शल्यक्रिया र अरु घाइतेको थप उपचार भइरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
आगलागीमा घाइते २५ जनालाई कोसी प्रदेश सरकारको समन्वयमा विराटनगर र झापाबाट नेपाली सेनाको विमानमार्फत काठमाडौं लगिएको थियो ।
गएको कात्तिक २६ गते मोरङको उर्लाबारी नगरपालिका–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८ जना घाइते भएका थिए ।



















Discussion about this post