मोरङ : मोरङमा एम्बुलेन्सको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु भएपनि पुरुषको पहिचान खुलेको छैन ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेशबहादुर श्रेष्ठका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका १ मा एम्बुलेसले ठक्कर दिदाँ गम्भीर घाइते भएका पैदलयात्री पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
तर, दुर्घटनामा पर्नेको सनाखत हालसम्म हुन सकेको छैन ।
बिरामी बोकेर झापाबाट विराटनगरतर्फ आउँदै गरेको मे १ च १६५६ नम्बरको एम्बुलेन्सले आइतबार राति ९ः१५ बजेतिर ठक्कर दिँदा अन्दाजी २८ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए ।
विराटनगरको नोबेल शिक्षण अस्पतालमा सोमबार दिउँसो ४ः२० बजेतिर उनको मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेकाले परिवार वा आफन्तलाई शव बुझाउन पाइएको छैन ।
साथबाट परिचय खुल्ने कुनै कागजात फेला नपरेको र चिनजानका कोहीपनि हालसम्म सम्पर्कमा नआएको डीएसपी श्रेष्ठले बताए ।
उनका अनुसार मृतकको दाहिने तर्फको आँखा छैन । घटनाको अनुसन्धान सुरु गरेर मृतकको पहिचानको प्रयास भइरहेको उनले बताए ।
प्रहरीका अनुसार सडक पार गर्दै गरेका पैदलयात्रीलाई एम्बुलेन्सले ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित बनेको एम्बुलेन्सले प्रदेश १–०३–००१ प ५३८८ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दियो ।
दुर्घटनामा मोटरसाइकल चालक इलामको इलाम नगरपालिका ५ का ३५ वर्षीय दावा शेर्पा घाइते भएका थिए । घटनामा सामान्य घाइते भएका उनलाई उपचारका लागि पथरी अस्पताल भर्ना गरिएको छ ।
प्रहरीले एम्बुलेन्स चालक इलामको माई नगरपालिका ४ का ५० वर्षीय विष्णुभक्त लिम्बूलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।













Discussion about this post