मोरङ : मोरङमा राजस्व विभागको अन्तःशुल्क स्टिकर दुरुपयोगमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनपालथान गाउँपालिका ४ कर्सिया बजारका ४८ वर्षीय सुनीलकुमार राजवंशी रहेका छन् । शनिबार साँझ पक्राउ परेका राजवंशीको कर्सिया बजारमा केशव किराना पसल छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार भोला गुट्खालगायतका सुर्तीजन्य पदार्थको ‘प्याकेट’मा प्रयोग हुने स्टिकर दुरुपयोग भइरहेको विशेष सूचना आएपछि राजवंशीको पसलमा प्रहरीले छापा हानेको थियो ।
छापा हान्ने क्रममा प्रयोगका लागि तयारी अवस्थामा राखिएको अन्तःशुल्क स्टिकर फेला परेपछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले राजवंशीको पसलबाट ‘रेडीमेड टोबाक्को’ लेखिएको ३ हजार १ सय ४० थान अन्तःशुल्क स्टिकर बरामद गरेको छ ।
राजवंशीलाई थप अनुसन्धान एवं कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाइने डीएसपी दाहालले बताए ।
Discussion about this post