इटहरी : इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुम फाइनलमा प्रवेश गरेको छ ।
बुधबार जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बिटिएफसी तेह्रथुमले दमक फुटबल क्लब झापालाई ट्राइबेकरमार्फत ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
बिटिएफसीका लागि साइमन लिम्बू, रोबिन राई, मञ्जिल खड्का र निशान लिम्बूले १–१ गोल गर्दा सञ्जीव श्रेष्ठको प्रहार दमकका गोल किप्पर आयुष लिम्बूले रोक्न सफल भए ।
यसैगरी दमकका लागि नीमा तामाङ र आयुष श्रेष्ठले १–१ गोल गर्दा टिम क्याप्टेनसेमत रहेका गौरव धिमाल र विशाल दर्जीको प्रहार बिटिएफसी तेह्रथुमका गोल किप्पर प्रेम लिम्बूले रोक्न सफल भए ।
द योङ्ग ब्रदर्श क्लब इटहरीको आयोजनामा माघ १३ गतेदेखि भइरहेको प्रतियोगितामा बुधबार बिटिएफसी र दमकबीच निर्धारित समयमा खेल बराबरीमा टुंगिएको थियो ।
खेलको निर्धारित समयमा दुवै टिमबाट गोल गर्ने प्रयास भएपनि गोल हुन सकेन । खेलको म्यान अफ दि म्याच बिटिएफसीका प्रेम लिम्बू घोषित हुँदै नगद पाँच हजारसहित ट्रफी हात पारे ।
अब बिहीबारको अन्तिम सेमिफाइनल खेल धरान फुटबल क्लब, सुनसरी र सिधुँवा सिंहदेवी फुटबल क्लब, धनकुटाबीच प्रतिष्पर्धा हुनेछ ।
आयोजक कमिटिका अध्यक्ष विजय सुब्बाका अनुसार कोसी प्रदेशका आठ वटा टिम सहभागी भएको प्रतियोगितामा विजेता टिमले नगद दुई लाख ११ हजार र उपबिजेता टिमले नगद एक लाख ११ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
माघ २० गतेसम्म सञ्चालन हुने खेलमा कूल २० लाख खर्च हुने अनुमान गरिएको छ ।
Discussion about this post