इटहरी : इटहरीमा गत माघ १३ गतेदेखि २० गतेसम्म भएको स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगितामा भएको खर्चको आय, व्यय विवरण सार्वजनिक गरिएको छ ।
आयोजक द योङ्ग ब्रदर्श क्लब, इटहरीले बिहीबार पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । आयोजकले सार्वजनिक गरेको खर्च विवरणअनुसार कूल तीन लाख ३१ हजार छ सय ६७ रुपैयाँ मुनाफा भएको छ ।
जम्मा १९ लाख ४५ हजार आय हुँदा, १६ लाख १३ हजार तीन सय ३३ रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष विजय सुब्बाले बताए ।
उनकाअनुसार विदेशमा रहेका नेपालीहरूबाट कूल पाँच लाख ५० हजार, इटहरी तथा आसपासका संघ, संस्था र क्लबबाट १० लाख ४५ हजार रुपैयाँ, इटहरी उपमहानगरबाट दुई लाख ५० हजार रुपैयाँ र प्रदेश खेलकुद विकास बोर्डबाट एक लाख रुपैयाँ सहयोग प्राप्त भएको हो ।
यसैगरी, खेल मैदान मर्मत तथा स्टेज निर्माणमा एक लाख, उद्घाटन तथा समापनमा ६० हजार, खेल सामाग्रीका लागि ५० हजार, ट्रफी, प्रमाणपत्र, शिल्ड, मायाको चिनोमा एक लाख २० हजार, नगद पुरस्कार (विजेता, उपविजेता, म्यान अफ दि म्याच र उत्कृष्ट खेलाडी)मा चार लाख ३३ हजार) खर्च भएको अध्यक्ष सुब्बाले बताए ।
यस्तै, गेट निर्माण र ब्यानर छपाईमा ५० हजार, प्राथमिक उपचार, अफिसियल तथा स्वयम्सेवकमा एक लाख, विज्ञापनमा ६० हजार, रेफ्री भत्तामा एक लाख, खेलाडी भत्ता र यातायातमा चार लाख ५० हजार र मसलन्द खर्चमा एक लाख २० हजार खर्च भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्लबका संरक्षक तथा खेल संयोजक विकास केसीले आगामी दिनमा खेलाडी उत्पादनका निम्ति पनि क्लबले काम गर्ने बताए ।
‘आफ्नै क्षेत्रमा भएका खेलाडीलाई प्रोत्साहित गर्नका निम्ति आगामी दिनमा क्लबले काम गर्नेछ,’ केसीले भने, ‘क्लबले खेल क्षेत्रलाई प्रोत्साहितसँगै सामाजिक कामसमेत गर्नेछ ।’
उनका अनुसार यसअघि क्लबले रक्तदान पनि आयोजना गरेको र त्यसबेला सहयोग उठाएर गरिएपनि अब भने थोरै खर्चमा हुने कार्यक्रम अहिले बचत भएको पैसाले गर्ने बताए ।
प्रायजसोः कार्यक्रम भएपनि खर्च विवरण सार्वजनिक भएका हुँदैनन् नि ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले खेलकुद प्रतियोगिता आयोजना गर्नुअघि नै पत्रकार सम्मेलनमार्फत एक साताभित्र खर्च सार्वजनिक गर्ने भनेका थियौँ । तर, कारणवश केही ढिला भयो, हामी समाजप्रति जवाफदेही छौँ भन्नका लागि पनि खर्च विवरण सार्वजनिक गरिएको हो ।’
उनले समाजसँग उठाएर गरिएका कार्यक्रमको अय, व्यय विवरणमाथि प्रश्न उठिरहँदा यो क्लबले भने पारदर्शीताका निम्ति पनि चाँडै नै खर्च विवरण सार्वजनिक गरेको बताए । ‘कार्यक्रमको उदेश्य के हो ? भनेर गरिएका कार्यक्रम पारदर्शी हुनुपर्छ,’ केसीले भने, ‘हामी स्वच्छतापूर्वक काम गरिरहेका छौँ ।’
इटहरीमा यसअघि हुँदै आइरहेको ‘इटहरी गोल्डकप’लाई यो प्रतियोगिताले असर पारेको भन्ने सन्दर्भमा उनले खण्डन गरे ।
‘हामीले इटहरी गोल्डकप गराउने आयोजकका साथीहरूसहित, प्रदेश खेलकुद बोर्ड र एन्फासँग सल्लाह गरेर यो प्रतियोगिता आयोजना गरेका हौँ,’ उनले भने, ‘आयोजक योङ्ग ब्रदर्श क्लब भएपनि यो हामी सबैले गरेको प्रतियोगिता ठानेर उहाँहरूले सहयोग गर्नुभएको छ । बजारमा भइरहेका हल्ला र प्रचारमा अल्झिने कुरा भएन ।’
उनकाअनुसार खेल अवधिभर करिब २० हजार दर्शक सहभागी भए । दर्शकको उत्साहले आफूहरूलाई थप प्रोत्साहन मिलेको उनको भनाइ छ ।
यसअघि माघ २० गते भएको फाइनल खेलमा बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुमले चुमेको थियो ।
खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधि चुम्दै नगद दुई लाख २२ हजार रुपैयाँ हात पारेको थियो । यसैगरी सिधुँवाले नगद एक लाख ११ हजार हात पारेको थियो । प्रतियोगितामा कोसी प्रदेशका आठ वटा टिम सहभागी रहेका थिए ।
Discussion about this post