धरान : २४ औँ संस्करणको बुढासुब्बा गोल्डकप फागुन २६ गतेदेखि चैत्र ३ गतेसम्म हुने भएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी ९० प्रतिशत पूरा भएको जानकारी दिइएको हो ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार पूर्ण रूपमा व्यवसायिक हुन नसकेको खेलकुद क्षेत्र र देशले भोगिरहेको आर्थिक मन्दीको कारण प्रतियोगिता आयोजनामा झनै चुनौतीपूर्ण भएपनि खेलाडीहरूलाई रोजगारमूलक र व्यवसायीमूलक बनाउने योजनासहित आर्थिक पारदर्शिता, संस्थागत निर्णयहरुलाई इमान्दारितापूर्वक लागू गर्ने उदेश्यसहित २४ औं संस्करणको बुढासुब्बा गोल्डकप आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा ७७ लाख, ६० हजार आम्दानी हुने अनुमान रहेको छ भने ६६ लाख ५५ हजार अनुमानित खर्च लाग्ने अध्यक्ष तामाङले बताए ।
नेपाली फुटबलको इतिहासमा धरान फुटबल क्लबले गर्ने अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताले फुटबलमा इट्टा थप्ने काम गरेको क्लबका मानार्थ अध्यक्ष तथा कोसी प्रदेश खेलकुद संघ अध्यक्ष किशोर राईले बताए ।
प्रतियोगितामा चर्च ब्वाईज क्लब, श्रीस्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाण्डौ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतीय क्लब (युके एफसी)ले सहभागिता जनाउने क्लबका अध्यक्ष तामाङले बताए ।
प्रतियोगितामा विजेताले १० लाख रुपैयाँ र उप–विजेताले ५ लाख रुपैयाँ साथै मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ र प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ, उत्कृष्ट गोल रक्षकले २५ हजार रुपैयाँ, उत्कृष्ट डिफेन्स २५ हजार रुपैयाँ, उत्कृष्ट मिड फिल्डरले २५ हजार रुपैयाँ, उत्कृष्ट स्ट्राइकरले २५ हजार रुपैयाँ उत्कृष्ट प्रशिक्षकले २५ हजार रुपैयाँ, सर्वाधिक गोलकर्ताले ३५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
Discussion about this post