इटहरी : सडक मार्गका हिसाबले हेर्ने हो भने, इटहरी कोसी प्रदेशको केन्द्र हो । इटहरी हुँदै सवारीका साधनहरू पूर्व, पश्चिम र उत्तर, दक्षिण जान्छन् ।
२०३० सालतिर पूर्व पश्चिम सडकखण्ड बनेसँगै इटहरी सहरका रूपमा विकास हुन थालेको हो । यसअघि इटहरीको बजार अहिलेको बजार क्षेत्र भन्दा टाढा थियो । इटहरी उपमहानगरमै पर्ने पकली पहिला गुल्जार थियो ।
तर पूर्व–पश्चिम सडकखण्ड बनेसँगै इटहरीमा बसोबास गर्न आउनेको संख्या बढ्दै गएको छ ।
इटहरी उपमहानगरपालिको तथ्याङ्कअनुसार इटहरीमा वर्सेनि २ हजार घर बनिरहेका छन् । घर बढेसँगै जनसंख्या पनि बढिरहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार इटहरीमा ४० हजार २ सय ७ घर धुरी छन् । यहाँको जनसंख्या १ लाख ९८ हजार ९८ जनसंख्या छ ।
२०६८ को जनगणनामा भने इटहरीमा ३३ हजार ७ सय ९४ घर धूरी थिए । इटहरीको जनसंख्या ६८ सालमा १ लाख ४० हजार ५ सय १७ मात्रै थियो ।
यो बाहेक इटहरीमा व्यापार गर्न अध्ययन गर्न र अन्य कामका लागि बसोबास गर्नेको संख्या झन्डै ३ लाख रहेको अनुमान छ ।
यो तथ्याङ्कले के बताउँछ भने इटहरीमा बसाइँ सराइको चाप अत्यधिक छ । बसाइँ सरेर इटहरीमै आउनेको संख्या बढ्नु भनेको इटहरी आम मानिसको रोजाइको सहर बनेको बताउँछन्, इटहरीका मेयर हेमकर्ण पौडेल ।
इटहरीलाई हिलो र धुलोमुक्त बनाउन काम सुरु भएको उनले बताए । उनले भने, ‘पूर्वाधार विकासको विस्तारले पनि इटहरीलाई बसोबास गर्ने उपयुक्त स्थलको रूपमा मानिसहरूले लिने गरेका छन् । यो काममा उपमहानगर अझै लाग्ने छ ।’
इटहरीको बसाइँ सराइको चाप मधेस आन्दोलनबाट बढेको इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी बताउँछन् । पहाडबाट तराई बसाइँ सरेर झर्नेहरू इटहरीमा रोकिए । विराटनगर लगायतका सहरमा मधेस आन्दोलनका कारण मानिसहरू जान चाहेनन् ।
उनले भने, ‘मिक्स समुदाय भएका कारण इटहरीमा सुरक्षाका हिसाबले मानिसहरूको बसाइँ सराइको चाप बढेर गयो ।’
इटहरीमा ३० को दशकमा पूर्व–पश्चिम सडक बनेसँगै बसाइँ सरेर आउने क्रम सुरु भइसकेको थियो । २०४५ को भूकम्पमा मानवीय एवं भौतिक क्षतिपछि धेरै धरानबाट पनि सुरक्षित बसाइकालागि मानिसहरू इटहरी झरेको जानकारहरू बताउँछन् ।
घर मात्रै बनेनन्, व्यापार पनि बढ्यो
इटहरीमा घर मात्रै बनेका छैनन् । ठूलठूला होटल, सपिङ मल र डिपार्टमेन्ट स्टोरहरू बनिरहेका छन् । कोसी प्रदेशमै पहिलो पटक डिपार्टमेन्ट कल्चर इटहरीबाट सुरु भएको मानिन्छ ।
इटहरी पछिल्लो समय रेडिमेट व्यवसायको हबको रूपमा विकास भइरहेको छ । यहाँ होलसेल व्यापार हुन्छ । कुनै बेलाको धुलाबारीको होलसेल बजार इटहरी सरेको छ । धरान र विराटनगरको होलसेल बजार पनि इटहरीमा सरेको उद्योग वाणिज्य सङ्घ इटहरीले जनाएको छ ।
नेपाल सरकारले ०७१ साल मङ्सिर १६ गतेको निर्णयबाट इटहरी नगरपालिकालाई उपमहानगरपालिकामा स्तरोन्नति गरेको हो । नगरपालिकालाई उपमहानगरपालिका बनाउँदा इटहरी नगरपालिकामा खनार, पकली, एकम्बा र हाँसपोसासमेत गरी ४ वटा गाबिसहरू गाभिएका छन् ।
देशलाई जोड्ने यातायात सञ्जालसँग इटहरीमा होटेल व्यवसाय समेत फस्टाएको छ । इटहरीमा अहिले पाँचतारे होटेलसमेत खुलेको छ ।
तेह्रथुमबाट इटहरीमा बसाइँ सरेर आएका राधाकृष्ण घिमिरे भन्छन्, ‘भौतिक पूर्वाधारको विकास पनि भइरहेको छ । सुरक्षाको अवस्था पनि राम्रो छ । बस्नका लागि इटहरी राम्रो लागेको छ ।’
उनका अनुसार शिक्षा स्वास्थ्यजस्ता कुराले पनि इटहरी उपयुक्त स्थलको रूपमा विकास हुँदै आएको छ । सडक सञ्जालका हिसाबले सजिलो मात्रै नभइ इटहरी चौतर्फीको केन्द्र बनेको बताउँछन् धनकुटाबाट बसाइँ सरेर आएका पदमलाल गिरी ।
सुरक्षामा मजबुत इटहरी
इटहरीमा नेपाली सेनाको पूर्वी पृतना छ । यस्तै इटहरीमै सशस्त्र प्रहरीको बराह बाहिनी पनि छ ।
इटहरीमै सुरक्षा निकायका प्रदेशका मुख्यालय हुँदा पनि सुरक्षाको प्रत्याभूति हुने ठानेर मानिसहरू इटहरीलाई बसोबासको उपयुक्त स्थलको रूपमा लिने गरेका छन् ।
यो बाहेक इटहरीमा इलाका प्रहरी कार्यालय छ । इलाका प्रहरी कार्यालय र स्थानीय तहसँगको समन्वयमा अहिले प्रविधिका माध्यमबाट सुरक्षा गतिविधि बढाइएको छ ।
इटहरीका चोक चोकमा सीसी क्यामरा जडान गरिएको छ । यसका कारण पनि अपराध अनुसन्धानमा सहज भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
उनले स्थानीय र उपमहानगरसँग मिलेर प्रहरीले यहाँको शान्ति सुरक्षाको अवस्था नागरिकले प्रत्याभूति हुने खालको काम भएको बताए । उनकाअनुसार अहिले इटहरी उपमहानगरको मुख्य चोकमा सीसी क्यामराबाट अनुगमन गर्ने काम भएको स्थानीय तहसँगको समन्वयमा सीसी क्यामरा राखेको छ । सीसी क्यामराका कारण अपराध अनुसन्धानमा सहज भएको छ ।
पूर्वाधार विस्तारले आकर्षण
इटहरीको बाहिरी चक्रपथको काम प्रभावकारी बनाउन सुरु भइसकेको उपमहानगरले जनाएको छ । यसअघि ढल निकासमा सन्तोषजनक काम नभएपनि अहिले यसलाई तीव्रता दिइएको उपमहानगरको दाबी छ ।
वर्षौँदेखि अल्झिएको कोसी राजमार्गलाई ६ लेनको बनाउने काम अहिले अन्तिम चरणमा रहेको छ । फोहोरमैला व्यवस्थापनका लागि पूर्वाधार निर्माणको काम सम्पन्न भएको छ । इटहरी भएर बग्ने टेङ्ग्रा र सेरा खोलालाई व्यवस्थापन गर्न नसक्दा डुबानको त्रास अझै कायमै छ ।
स्वास्थ्य र शिक्षा उपमहानगरको प्राथमिकता
इटहरीले विभिन्न कोणबाट आफूलाई चिनाउने प्रयास गरिरहेपनि सार्थक हुन सकेको छैन । गुणस्तरीय स्वास्थ्य सेवाका लागि धरान, विराटनगर अथवा काठमाडौँ नै पुग्नुपर्ने बाध्यता नगरबासीलाई छ ।
यो बाध्यतालाई चिर्न इटहरी अस्पताललाई सुविधा सम्पन्न बनाउन काम सुरु भएको उपमहानगरपालिकाको दाबी छ । खासगरी मधेस आन्दोलनपछि इटहरीमा जनघनत्व बढेको हो । जनघनत्व बढेसँगै भएका सडक, पुलपुलेसा र अस्तव्यस्त बजारलाई व्यवस्थित बनाउनु मुख्य चुनौती हो ।
सडक यातायात र चौबाटोले बढाएको व्यापारलाई व्यवस्थित बनाएर विस्तार गर्नु पनि इटहरीको लागि चुनौती र अवसर हो । यही चुनौतीलाई अवसरको रूपमा बदल्न मुख्य चौक क्षेत्रमा आकासे पुलको शिलान्यास र नगर बस सञ्चालनको लागि प्रक्रिया अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बताए ।
भिडियो
– ADVT
Discussion about this post