काठमाडौँ : वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज (सोमबार) निधन भएको छ ।
८२ वर्षको उमेरमा आज अपराह्न ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
आचार्यले झण्डै चार सय गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।
नेपाली संगीतमा उनको विशिष्ट स्थान छ । आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् ।
भजन शिरोमणिको उपाधिसमेत पाएका आचार्यको अपराह्न साढे ४ बजेतिर अक्सिजन लेभल कम भएपछि उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा निधन भएको हो।
उनको पार्थिव शरीर भोलि (मंगलबार) बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका राखिने तयारी गरिएको छ।
साथै उनको बिदाइ राष्ट्रिय सम्मानका साथ गर्ने बताइएको छ। उनका दुई छोरा सत्य र स्वरुप आचार्य छन्। उनीहरू पनि गीत, संगीतमै सक्रिय छन्।
Discussion about this post