मोरङ : मोरङमा प्रहरीले एकैदिन ५९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखेर विशेष अभियान चलाएको बताएका छन् । कार्की यही फागुन ७ गते मोरङ प्रहरी प्रमुखका रूपमा हाजिर भएका थिए ।
त्यसयता मोरङ प्रहरीले फरार पक्राउ, लागूऔषध तथा चोरीलगायतका अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर नयाँ सुरक्षा रणनीतिक योजना बनाइरहेको छ ।
प्रहरी सक्रियताकै कारण मोरङमा एकैदिन ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीले मंगलबार विभिन्न स्थानबाट ५९ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।
एसपी कार्कीले समाजमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउने र अपराधरहित समाज निर्माण गर्ने उदेश्यसाथ फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
अदालतले दोषी ठहर गरेपनि सजाय भुक्तान नगरिकन लामो समयदेखि प्रतिवादी फरार भइरहँदा र पक्राउ नपर्दा कानुन कार्यान्वयनप्रति अनेक आशंका उब्जिने गरेको छ ।
अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकामध्ये ५९ जना प्रतिवादी एकैदिन पक्राउ परेको एसपी कार्कीले बताए । उनका अनुसार पक्राउ पर्नेमध्ये ८ जनालाई कैद र ५१ जनालाई जरिवानाको फैसला अदालतले यसअघि नै गरिसकेको छ ।
जबरजस्ती करणी, सवारी ज्यान, सवारी अंगभंग, ठगी, अभद्र व्यवहारलगायतका मुद्दामा दोषी ठहर भइसकेकाहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।














Discussion about this post