इटहरी : इटहरीमा मध्यराति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका ६ स्थित वीपी चौकमा मध्यराति ११ः४५ बजे आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कैलाश चौधरीका अनुसार मृत्यु हुनेमा ५२ वर्षीया गोपीमाया कटवाल रहेकी छन् । कटवालको जलेर घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक चौधरीले पुष्टि गरे ।
‘कोठामा चुकुल लगाएर सुतेको अवस्थामा आगलागी भएछ । पूजाकोठा पनि त्यहीँ रहेछ,’ चौधरीले टाकुरा न्यूजसँग भने, ‘आगलागीको कारण तत्काल नखुलेपनि प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।’
उनका अनुसार अहिले घटनास्थलमा मुचुल्का उठाउने काम भइरहेको छ । प्रहरीले घटनास्थलबाट मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरेको छ ।
कटवाल सुतेको कोठामा आगलागी भएको र छेउको कोठामा छोराबुहारी रहेको चौधरीले बताए ।
उनले भने, ‘छेउको कोठामा छोराबुहारी सुत्दारहेछन् । त्यो कोठामा आमा एक्लै भएकाले एउटा कोठामा सुतेको अवस्थामा मानवीय क्षति भयो ।’
उक्त कोठामा रहेका लत्ताकपडासहित दराज जलेर क्षति भएको उनको भनाइ छ ।
मध्यराति आगलागी भएका कारण प्रहरीले ढिलागरी मात्रै जानकारी पाएपनि दमकलले राति नै आगलागी नियन्त्रणमा लिएका कारण अन्य थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
आगलागीको कारणबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।
Discussion about this post