इटहरी : इटहरीमा उपचार गराउन आएकी एक महिलामाथि डाक्टरले दुर्व्यवहार गरेको आरोप लागेको छ ।
दुर्व्यवहार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि डाक्टरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी ९ स्थित एक क्लिनिकमा* उपचार गराउन आएकी एक महिलामाथि डा. रामसागर मेहताले दुर्व्यवहार गरेको जाहेरीका आधारमा डा. मेहतालाई पक्राउ गरिएको हो ।
उनी शिविरमा आएको क्रममा चेकजाँच गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘इसीजी गराउने क्रममा मिस बिहेब भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एक प्रहरी अधिकृतले टाकुरा न्यूजसँग भने, ‘उपचारको क्रममा दुर्व्यवहार भएको जाहेरीका आधारमा हामीले डाक्टरलाई आइतबार साँझ पक्राउ गरेका हौँ ।’
डा. मेहता बाल रोग विशेषज्ञ रहेको स्रोतले जनाएको छ । महिलामाथि दुर्व्यवहार गरिएको भएपनि प्रहरीले भने अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । प्रहरीले डा. मेहतालाई म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा लगेको छ ।
उनलाई अभद्र व्यवहारमा म्याद थप गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।
Discussion about this post