विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएको बताएका छन् ।
६७ अौं राष्ट्रिय सहकारी दिवसको अवसरमा मूल समारोह समितिले मोरङमा मंगलबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर रहेको सहकारी क्षेत्रका साथै समग्र मुलुकको नै अर्थतन्त्र धरासायी बनाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।
‘बैंक, लघुवित्त, सहकारी र साहु महाजनको ऋण तिर्न नसक्नेहरूलाई कस्ले हिडाउँदै काठमाडौं पु¥याइरहेका छन् ?,’ उनले भने, ‘काठमाडौं पुग्न बसभन्दा बढी खर्च हिँडेर जान लाग्छ । ऋण तिर्ने पैसा नहुनेलाई त्यो खर्च कसले दिइरहेको छ । यो मुलुकको अर्थतन्त्र धरासायी बनाउनेहरूले यस्तो गरिरहेको स्पष्ट छ ।’
त्यसैले यी यस्ता आफ्नै खुट्टामा बञ्चरो हान्ने गलत क्रियाकलापमा नलाग्न मुख्यमन्त्री कार्कीले आग्रह गरे ।
‘सहकारी डुब्न लागेको सुन्ने बित्तिकै सबै बचतकर्ताले बचत माग्न थालेपछि सहकारी डुब्ने गरेको होइन,’ उनले भने, ‘सहकारीले विपन्न वर्गका साथै महिलाहरूको जीवनस्तर परिवर्तन भइरहेकोले आफूलाई भनाउँदाहरूको समाजमा मान घटेको छ । त्यसैले पनि सहकारीलाई बदनाम गराउने अनेकौं खेल भइरहेको छ, त्यसबाट सचेत हुनुपर्छ ।’
महिलाहरूको सक्रियताले गाउँका सहकारीहरू फष्टाइरहेको उनले बताए । सर्वसाधारणको जीवनस्तर परिवर्तन गर्ने सहकारीलाई प्रदेश सरकारले प्रोत्साहन गर्ने उनको भनाइ छ ।
‘सहकारीमा आबद्ध भएकोले विपन्नवर्ग साहू महाजनको ऋणबाट मुक्त भएको छ,’ उनले भने, ‘केही सहकारीको मालिक नै चोर भएकाले सहकारी क्षेत्र बद्नाम भइरहेको छ ।’
मोरङमा एक हजार ४० सहकारीमा २७७ प्रदेश मातहत र ७३३ पालिकाले हेर्छ । जसमा ४ लाख ४३ हजार सेयर सदस्य र २९ अर्ब सेयर पूँजी रहेको प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
Discussion about this post