इटहरी : पठाओले कोसी प्रदेशका मुख्य सहरहरूसँगै मुलुकभर थप १७ सहरमा बाइक राइड सेवा विस्तार गर्ने भएको छ ।
मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा चाँडै थप सहरहरूमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोसी प्रदेशका नौ सहरहरू विराटनगर, इटहरी, धरान, दमक, उर्लाबारी, विराटचोक, इनरुवा, बिर्तामोड र भद्रपुरमा उपलब्ध हुनेछ ।
“नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा बिस्तार गर्न लागेका छौँ,” बस्न्यातले भने ।
बस्न्यातका अनुसार सेवा बिस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ ।
“राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन सकिनेछ। कागजी प्रक्रिया पूरा भएपछि उनीहरुलाई अनलाइनमार्फत तालिम पनि दिइन्छ ।” बस्न्यातले भने ।
Discussion about this post