विराटनगर : विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ ।
विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र तीन क्षेत्रमा विभाजित गरेर महानगरले अनुगमनलाई तीव्रता दिएको हो ।
अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौललगायत हेर्ने गरिएको महानगरको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिए ।
शाखा प्रमुख यादवको नेतृत्वमा रोडशेष दक्षिणको क्षेत्रमा सञ्चालित पसलहरूको अनुगमन गरिएको छ । टोलीमा यादवसहित डा. सरहना सुवेदी, गणेश पौडेल, नगर प्रहरी निरीक्षक राजन पौडेललगायतको सहभागिता रहेको थियो ।
माछा मासु पसलमा कमीकमजोरी भेटिए पहिलोपटकलाई सचेत गराएर छाड्ने यादवले बताए । फेरि पनि कमजोरी भेटिए कारबाही गर्ने उनको भनाइ थियो ।
अनुगमनका क्रममा देवकोटा चोकस्थित रोयल मल्कि मिट सेन्टरमा कुहेको मासु भेटिएको थियो । टोलीले १० किलो खसीको मासु नष्ट गरेको यादवले जानकारी दिए ।
महानगरले चालु आर्थिक वर्षको हालसम्म ४२ वटा माछा मासु पसलको अनुगमन गरिसकेको छ ।
गत आर्थिक वर्ष महानगरले ८५ वटा पसलको अनुगमन गरेको थियो । महानगर क्षेत्रभित्र करिब २ सय माछा मासु पसल सञ्चालनमा रहेका छन् । ती मध्ये करिब ३५ प्रतिशत अझै दर्ता प्रक्रियामा नआएको उनले बताए ।
Discussion about this post