विराटनगर : आरोहण गुरुकुल विराटनगरमा वैशाख २८ र २९ गते विराट वाङ्मय उत्सव हुने भएको छ ।
गुरुकुलको आयोजनामा हाटखोलास्थित परिसरमा विविध कविता वाचन, अनेक साहित्यिक तथा सामाजिक मुद्धाहरूमा छलफल गरेर उत्सव मनाउन लागिएको हो ।
वैशाख २८ गते विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्घाटन गरेर सुरु हुने कार्यक्रममा कवितामाथि बनाइएका चित्र प्रदर्शनी र कविता वाचनको कार्यक्रम राखिएको छ ।
त्यस्तै कता रुमलियो विराट विरासत, नेपाली भाषाको बहाब, मञ्चमा ‘म’, भोलि बास्ने कवि : सम्झनामा कृष्णभूषण बल, नेपाली साहित्य सिर्जनाका नवीनतम् आयामहरू लगायत शीर्षकमा छलफल गरिनेछ ।
यस्तै, दोस्रो दिन मातृभाषी कविता वाचनसँगै राजनीति र साहित्य : साहित्यमा राजनीति, योगवाणी र योगमाया, आख्यानमा चरित्र निर्माण : परिकल्पना र प्रस्तुति, पात्र र लैङ्गिकता लगायत विषयमा छलफल हुनेछ ।
सोही दिन समकालीन रचना वाचन र गजल वाचन गर्दै कार्यक्रम समापन हुने गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।
उत्सवमा जसराज किराती, मनु मञ्जिल, मुकुन्द प्रयास, विवश पोखरेल, देवान किराती, हाङयुग अज्ञात, सीमा आभास, शुभलक्ष्मी लम्साललगायतको सहभागिता रहनेछ ।
साथै, कोशी प्रदेशका १४ वटै जिल्लाका कवि तथा साहित्यकारहरूको सहभागिता र रचना वाचन रहनेछ ।














Discussion about this post