मोरङ : मोरङको रतुवामाई नगरपालिका ६ बाट लागूऔषध ओसारपसारमा संलग्न रहेका एकजना भारतीय नागरिकलाई गोली प्रहार गरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध खैरोहेरोईनको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिजुवा मोरङ, लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाण्डौँ र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक ३४ वर्षीय भगीरथ हरिजन रहेका छन् । उनलाई मंगलबार (आज) दिउँसो ३ बजेतिर रतुवामाई नगरपालिका ६ कादुपाडाबाट नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
बीआर ३८ क्यू ३८३० नम्बरको मोटरसाइकल चालकसमेत रहेका उनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै आक्रमण गर्दा एकजना प्रहरी कर्मचारीसमेत सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।
प्रहरीले प्रतिकारस्वरूप २ राउण्ड गोली तिघ्रामा प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको साथबाट प्रहरीले १४९ ग्राम ब्राउनसुगर बरामद गरेको छ ।
गोली लागेर घाइते भएका हरिजनको प्रहरीको निगरानीमा मदन भण्डारी अस्पताल मंगलबारेमा उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post