इटहरी : कोशी प्रदेशसभा बैठक आइतबार बस्दैछ । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने तयारीसहित बैठक बस्न लागिएको हो । तर, नेपाली कांग्रेसले भने बैठक बहिष्कार गर्ने भएको छ ।
गत वैशाख ३१ मा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएको बैठकलाईसमेत कांग्रेसले बहिष्कार गरेको थियो ।
सरकार गठनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै कांग्रेसले निर्णय नै गरी सदनमा उपस्थित नहुने पत्र लेखेर सभामुखलाई बुझाएको थियो ।
कांग्रेस संसदीय दलका नेता उद्धब थापाले अदालतको निर्णयबाट मात्र संसद बैठक उपस्थित हुने, नहुने निर्णय गरिने बताए । आगामी पेशी जेठ १६ गते तोकिएको छ । ‘अबको पेशीमा अदालतले के भन्छ हेरौँ । अनि मात्र, के गर्ने निर्णय गर्छौं,’ उनले भने ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सर्वोच्चमा दुईपटक पेसी चढेको छ ।
२८ वैशाखमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले प्रदेश प्रमुख कार्यालयलाई हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुको कारण देखाउसँगै संवैधानिक प्रश्न रहेको समेत भन्दै पूर्ण इजलासमा मुद्दा पेस गर्न आदेश दिएको थियो ।
त्यसपछि ९ जेठमा सर्वोच्चको संयुक्त इजलासले थप कागजात झिकाउने आदेश गरेको छ । अर्को पेशी भने जेठ १६ मा तोकिएको छ ।














Discussion about this post