विराटनगर : विराटनगर महानगरपालिकाले सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । महानगरमा कार्यरत सफाइकर्मीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधिसमेत वितरण गरिएको छ ।
कार्यक्रमको मेयर नागेश कोइरालाले उद्घाटन गरे । नेपाल डेब्लोप्मेन्ट सोसाईटीसँग महानगरले सहकार्य गरेर स्वास्थ्य शिविर र अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
महानगरपालिकाले सरसफाईकर्मीको स्वास्थ्य परीक्षणसँगै स्वास्थ्य अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरेको स्वास्थ्य महाशाखाका संयोजक डा. दिलिप यादवले जानकारी दिए ।
महानगरमा कार्यरत तीन सय सफाई मजदुरको स्वास्थ्य परीक्षणका साथै अभिमुखीकरण गरिने उनले बताए ।
यादवका अनुसार दैनिक सरसफाईमा खटिने मजदुरहरूको स्वास्थ्यमा कुनै समस्या रहे नरहेको भन्ने यकिन गर्न स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा मुख्यगरी छाला, श्वासप्रश्वास, आँखा जाँचलाई प्राथमिकतामा राखिएको छ ।
एचआईभी, हेपटाईटिस बी, हेपटाईटिस सी, टिवरक्लोसिस, सुगरलगायतको विशेष जाँच भइरहेको नेपाल डेब्लोप्मेन्ट सोसाईटी सोलिड हेल्थकी प्रोजेक्ट डाईरेक्टर गीता साहले जानकारी दिइन् ।
Discussion about this post