मोरङ (मिक्लाजुङ) : मिक्लाजुङ साहित्य दर्पणले एक कार्यक्रमको आयोजना गरी मिक्लाजुङका स्रष्टाहरूको संयुक्त कृति विमोचन गरेको छ ।
मिक्लाजुङ गाउँपालिकाको आर्थिक सहयोग र मिक्लाजुङ साहित्य समाजको प्रकाशनमा उक्त कृति प्रकाशित भएको हो ।
कृतिमा मिक्लाजुङका पाँच दर्जन स्रष्टाहरुको विभिन्न विधाका लेख रचनाहरू समेटिएका छन् । साहित्यका अलवा मिक्लाजुङको इतिहास, संस्कृति, भूगोल, पर्यटन, भाषा लिपी र शिक्षा सम्बन्धिका लेख रचनाहरू पनि समावेश गरिएका छन् ।
गाउँपालिका अध्यक्ष बबिकुमार राई, कविहरू हेमन यात्री, सुन्दर कुरुप, विवश बलिभद्र कोइराला, कृष्ण उदासी, आचार्य प्रभा, विशाल राई, गगन योक्पाङ्देन र वडाध्यक्षहरू सेमन्त दाहाल र पर्वत राइले संयुक्त रूपमा कृति विमोचन गरेका थिए ।
कार्यक्रममा कवि हेमन यात्री र साहित्यकार कृष्ण उदासीले पुस्तकमाथि बोल्दै यो पुस्तक सिङ्गो मिक्लाजुङलाई बुझ्न र अध्यान गर्न चाहानेहरूका लागि महत्त्वपूर्ण रहेको बताए ।
उनीहरूले विकास भनेको पुल, बाटो, धारा, पाटी पौवा निर्माण गर्नु मात्रै नभएर चेतनाको विकासलाई पनि विकास मानेर स्थानीय सरकारले कला, साहित्यको क्षेत्रमा पनि लगानी गर्नुपर्ने बताए ।
प्रमुख अथिति गाउँपालिका अध्यक्ष बबिकुमार राइले कार्यक्रममा बोल्दै मिक्लाजुङमा कला, साहित्यलाई आत्मनिर्भर बनाउन मिक्लाजुङ गाउँपालिका सधैं प्रतिबद्ध रहेको बताए ।
गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलका अनुसार कृतिले मिक्लाजुङको इतिहास र साहित्यलाई भविष्य सम्मको लागि सुरक्षित गर्न सकेको बताए ।
कार्यक्रममा सुन्दर कुरुप, विवश बलिभद्र कोइराला, कल्पना आचार्य, मुना आत्रेय, कमल मिश्र, बुङ्छेन राई, सविता फागो चोङ्बाङ, प्रदीप योङहाङ, सकुन्तला मन्जरी, रुद्र प्रभात, सावित्रा सुमी, आचार्य प्रभा, चोमु शेर्पा खुसी, टङ्क राजवङ्शी र अनुपमा श्रेष्ठ लगायत डेढ दर्जन बढी सर्जकहरूले रचना वाचन गरेका थिए ।
कार्यक्रमका सभापति गगन योक्पाङ्देनले २० को दशकमै लेखनाथ पुस्तकालय एवम् वाचनलयको स्थापना भएको र सोही अवधिमै चुलाचुली साहित्यिक पत्रिका प्रकाशन भई साहित्यको विधामा क्रियाशिल भएको मिक्लाजुङ क्षेत्रले अपेक्षाकृत फड्को मार्न नसकेको बताए ।
उनले अहिले कला, साहित्यको क्षेत्रमा सक्रियतापूर्वक सार्थक गतिविधि गर्दै आइरहेकोसमेत बताए ।
उनका अनुसार विभिन्न समयमा विभिन्न स्मारिका, पत्रपत्रिका र एकल कृतिहरू प्रकाशित भए पनि मिक्लाजुङका स्रष्टाहरूलाई एउटै कृतिमा पढ्न सक्नेगरी प्रकाशन गरिएको यो पहिलो कृति भएको बताए ।
कार्यक्रमको सन्दर्भ पारेर मिक्लाजुङका समाजसेवी तथा व्यवसायी योगेन्द्र श्रेष्ठ (दिङ्ले काइँला)लाई सम्मानपत्रसहित सम्मानसमेत गरिएको थियोे ।
कार्यक्रमको सहजीकरण मिक्लाजुङ साहित्य समाजका कोषाध्यक्ष चन्द्र नेपालीले गरेका थिए भने समाजका सचिव इन्द्रप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।
Discussion about this post