इटहरी : सोमबारसम्म मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाढी पहिरोको कहर निम्त्याउनेगरी शुक्रबार सुरू भएको मौसम बदली आगामी सोमबारसम्म जारी रहने पूर्वानुमान गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले तीन दिनका लागि मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै बदली यथावत् रहने सम्भावना रहेको जनाएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित रहेको महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार हाल देशभर साधारणदेखि पूर्णतयाः बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज शनिबार राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका भारी वर्षाको सम्भावना छ ।












Discussion about this post